शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार, दल र ‘जेनजी’बीच निरन्तर संवाद आवश्यक : प्रधानमन्त्री

बिहिबार, कार्तिक १३ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र ‘जेनजी’ समूहबीच निरन्तर छलफल र विचार–विमर्श जारी रहनुपर्ने आवश्यकता औंल्याएकी छिन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय छलफलमा उहाँले नेपालको समस्या समाधानका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन्। “सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। एक पटकको कुराकानीले हुँदैन, बारम्बार छलफल हुनुपर्छ,” प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।

निर्वाचनको तयारी र राजनीतिक सहमतिको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले राखेको यो पहिलो र महत्वपूर्ण छलफल भएको बताइएको छ।

बैठकमा सहभागी ‘जेनजी’ समूहका प्रतिनिधिहरूले चुनाव हुनैपर्ने आवश्यकता दोहोर्याउँदै, सुशासन र भ्रष्टाचारविरुद्धको कडा कारबाहीमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा, “चुनाव चुनाव भनेर मात्रै हुँदैन, शासन प्रणाली सुधार र पारदर्शिता अनिवार्य छ।”

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा। महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत सहभागी थिए। राजनीतिक दलका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी रहेका थिए।
‘जेनजी’ समूहको तर्फबाट मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगर उपस्थित थिए।