काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न त्रिपक्षीय बैठकमा ‘जेनजी’ प्रतिनिधि, सरकार र राजनीतिक दलबीच आगामी निर्वाचनबारे विस्तृत छलफल भएको छ । बैठकमा ‘जेनजी’ पक्षले संसद् पुनःस्थापनाको अडान त्यागी समयमै चुनाव सम्पन्न गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘जेनजी’ प्रतिनिधि खेमराज साउदले नेकपा (एमाले)ले संसद् पुनःस्थापनाबारे उठाएको धारणा प्रति असहमति जनाउँदै त्यसले आन्दोलनको उपलब्धि उल्ट्याउने बताए । “समयमै निर्वाचन हुनुपर्छ भन्ने हाम्रो अडान छ । सरकार र ‘जेनजी’ दुवै त्यसमा सकारात्मक छन् । अब दलहरू पनि चुनावमा जुट्नुपर्छ,” साउदले भने ।
त्यसैगरी अभियन्ता सागर ढकालले निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री निर्वाचन सुनिश्चित गर्न सबै दलसँग आग्रह गरिएको जानकारी दिए । उनले सुधारिएको चुनाव प्रणाली र भ्रष्टाचारविरुद्ध ठोस कारबाहीमा सरकार केन्द्रित हुनुपर्ने आवश्यकता बैठकमा उठाइएको बताए । “निर्वाचनको विकल्प छैन । चुनाव प्रविधिमैत्री र पारदर्शी हुनुपर्छ भन्ने हाम्रो जोड हो,” ढकालले भने, “भ्रष्टाचारका धेरै मुद्दा अझै बाँकी छन्, त्यसमा कडा कारबाही आवश्यक छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार ‘जेनजी’ प्रतिनिधिहरूले राजनीतिक दलहरूलाई संसद् पुनःस्थापनामा नअड्की आगामी चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव गरेका हुन् । केही दलहरूले भने अझै पनि निर्वाचनका लागि अनुकूल वातावरण नबनेको चिन्ता व्यक्त गरेको पाण्डेले जानकारी दिए ।