शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना, नदीनालामा आकस्मिक बहावको चेतावनी

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

विभागले देशका बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ। ती क्षेत्रका नदीहरू सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी किनारका बासिन्दा, यातायात तथा कृषि क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे क्षेत्र हुँदै बग्ने स–साना नदी–नालामा पनि आकस्मिक बहाव हुने उच्च सम्भावना देखिएको छ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम उच्च रहने विभागले जनाएको छ।

संभावित वर्षा र हिमपातका कारण पहिरो, सडक तथा हवाई यातायातमा अवरोध, दैनिक जनजीवनमा कठिनाइ, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने विभागको चेतावनी छ।

यसैबीच, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशतर्फ प्रवेश गर्ने क्रममा रहेको र त्यसको प्रभाव क्रमशः कमजोर हुँदै उत्तर–उत्तरपश्चिमतर्फ सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक पुगेर पूर्वतर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ।