काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा शुभकामना सन्देश दिँदै दाहालले भनेका छन्,
“परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान र सहकार्यको भावना सुदृढ गर्दै सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणमा अघि बढ्न सकौं भन्ने विश्वास व्यक्त गर्दछु ।”
उनले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक चुनौतीबीच छठ पर्वले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको उल्लेख गर्दै देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाउने कामना गरे ।
दाहालले शुभकामना सन्देशमा भनेका छन्, “छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् ।”
मधेस–तराईको प्रमुख पर्वका रूपमा मनाइने छठ पर्व हाम्रो संस्कृति, श्रम र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गर्दै उनले यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना फैलाउने बताए ।