शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनताको विश्वास जितेर निर्वाचनमार्फत आफ्ना विचार जनतासामु प्रस्तुत गरी अनुमोदन गर्नु सर्वोत्तम मार्ग

सोमबार, कार्तिक १० २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गरी सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।

छठ पर्वको अवसरमा आइतबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले सूर्य आराधनाको यो पवित्र पर्वले सत्य, अहिंसा र प्रकृति प्रेमको सन्देश दिन्छ भन्दै सबै नेपालीबीच एकता, सद्भाव र भ्रातृत्व बढाउने बेला आएको उल्लेख गरिन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेकी छन्, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी भई सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।”

जेन–जी आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै संविधानले तोकेको समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री कार्कीले सबै पक्षले आफ्नो जिम्मेवारीको बोधका साथ निर्वाचन सफल पार्न जुट्नुपर्ने बताइन् ।

उनले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उल्लेख गर्दै शान्तिपूर्ण तवरले आफ्ना अडान र असन्तुष्टि राखी जनताको मन जितेर निर्वाचनबाट अनुमोदन गराउनु लोकतान्त्रिक अभ्यासको सर्वोत्तम मार्ग भएको टिप्पणी गरिन् ।

छठ पर्वले सामाजिक एकता, सह–अस्तित्व र सहिष्णुताको सन्देश दिने भन्दै प्रधानमन्त्रीले शुभकामना सन्देशमा थप भनेकी छन्, “पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनाराका उत्सवले दिने ऊर्जाले सबैमा सद्भाव र खुशी छाओस् ।”

प्रधानमन्त्री कार्कीले सत्य, आस्था र प्रकृतिप्रतिको श्रद्धामा आधारित यो पर्वले तराई र पहाडबीचको सम्बन्ध अझ सुदृढ बनाइरहेको विश्वास पनि व्यक्त गरेकी छन् ।