काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गर्दै आइतबार दुई नयाँ मन्त्री थप गर्नुभएको छ । नयाँ नियुक्त मन्त्रीहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लू गुप्ता रहेका छन् ।
तेस्रोपटक विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को संख्या १० पुगेको छ । यसअघि भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरिएको थियो । भदौ २७ गते गठित कार्की नेतृत्वको मन्त्रिपरिषद् अझै पनि पूर्ण नबनेको सरकार स्रोतले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाए । शपथपछि दुवै मन्त्रीले आफ्ना मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
यसअघि चार मन्त्रीलाई शपथ गराउने तयारी भए पनि अन्तिम समयमा दुई जनाको मात्रै शपथ भएको थियो । श्रम मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार विभिन्न मुद्दामा मुछिएको पुष्टि भएपछि अन्तिम समयमा उनको शपथ रोकिएको बताइएको छ ।
शपथलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्माले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा रहेको मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो । जेन–जी आन्दोलनका क्रममा मन्त्रालयको पुरानो भवन जलेर नष्ट भएपछि अस्थायी रूपमा सो भवनमा मन्त्रालय सारिएको हो ।
पदभार ग्रहण समारोहमा मन्त्री शर्माले आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले मानसिक स्वास्थ्य सुधार, सहिदका परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम र आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारलाई प्राथमिकतामा राख्ने बताइन्।
डा शर्माले मन्त्रालयका सचिवहरूलाई एक साताभित्र स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिँदै छोटो अवधिमा जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, “कुनै तहमा पनि भ्रष्टाचार भएको सुनिनु नपरोस् । परिणाममुखी काम गर्नुपर्छ।”
उनले मधेस, कर्णाली र सुदूरपश्चिमका तीनै तहका सरकारसँग सहकार्य गरी स्वास्थ्य सेवा विस्तारमा जोड दिने योजना सार्वजनिक गरिन् । साथै, वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि स्वास्थ्य सूचना र परामर्श सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारीसमेत गर्नुपर्ने धारणा राखिन् ।
डा शर्माले हालको जेन–जी आन्दोलनलाई ‘भनसुन र नातावादबाट उत्पन्न असमानताको परिणाम’ भन्दै प्रणालीगत सुधार अपरिहार्य रहेको बताइन् । उनले युवाको परिवर्तनको मागलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
सन् २०६५ असोजदेखि २०६८ पुससम्म स्वास्थ्य मन्त्रालयकी सचिव रहेकी डा शर्मा मातृ स्वास्थ्य सुधार, सुरक्षित प्रसूति र ग्रामीण स्वास्थ्य सेवा विस्तारमा प्रभावकारी काम गरेको अनुभव बोकेकी पूर्व प्रशासक हुन् ।