काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। स्रोतका अनुसार चार जना नयाँ मन्त्रीको नाम टुंगो लगाइएको छ र उनीहरूले आजै शपथग्रहण गर्ने तयारी भइरहेको छ।
स्रोतका अनुसार डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।
स्रोतका अनुसार चारै जनाको आजै शपथग्रहण हुने कार्यक्रम तय गरिएको छ।
यस विस्तारपछि प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् पूर्णता तर्फ अघि बढ्ने अनुमान गरिएको छ।
डा. सुधा शर्मा गौतम योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. शर्मा २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिइन्। उनले स्वास्थ्य प्रशासन, मातृ–शिशु स्वास्थ्य र महिला सशक्तीकरणका क्षेत्रमा लामो अनुभव हासिल गरेकी छन्।
गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लागेका श्रेष्ठ लामो समयदेखि सांस्कृतिक सम्पदा संरक्षण अभियानीका रूपमा परिचित छन्। काठमाडौं उपत्यकासहित देशभरका ऐतिहासिक सम्पदाको जगेर्ना र मौलिक सांस्कृतिक पहिचानको प्रवर्द्धनमा उनी सक्रिय छन्।
खगेन्द्र सुनार सामाजिक न्याय र दलित अधिकारका अभियानी हुन्। छुवाछूत र जातीय विभेदविरुद्ध अभियान चलाउँदै आएका उनी ‘दलितलाई खै’ भन्ने आन्दोलनका क्रममा माइतीघर मण्डलमा नेलसहितको प्रदर्शनपछि चर्चामा आएका थिए।
बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुप का संस्थापक हुन्। उनी युवा सशक्तीकरण, सामाजिक सेवा र परोपकारी गतिविधिमा सक्रिय रहँदै आएका छन्।