बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले संसद् पुनःस्थापना र चुनाव तयारी सँगसँगै अघि बढाउने

आइतबार, कार्तिक ९ २०८२

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीले संसद् पुनःस्थापनाको मुद्दा र आगामी चुनावको तयारी एकसाथ अघि बढाउने बताएका छन्।

नवलपरासीको सुनबलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ज्ञवालीले सरकार फागुन २१ गते निर्धारित निर्वाचनको वातावरण बनाउन गम्भीर नभएको आरोप लगाउँदै संसद् पुनःस्थापनाको एजेन्डा एमालेले कहिल्यै नछोडेको स्पष्ट पारे।

उनले ‘जेनजी’ युवा पुस्ताका मागहरू सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे। ज्ञवालीका अनुसार प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार अझै फिर्ता नआएको र पाँच हजारभन्दा बढी कैदीहरू फरार रहेको अवस्थाले चुनाव सुरक्षाका लागि चुनौती सिर्जना गरेको छ।

“फेरि पनि समझदारीका साथ अघि बढ्न सकिन्छ,” उनले भने, “भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग वार्ता र न्यूनतम सहमतिपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमूलक चुनाव गराएर देशलाई अघि बढाउन सकिन्छ।”

ज्ञवालीले पार्टीको महाधिवेशन तय भइसकेको बताउँदै अब नेतृत्वको विषय महाधिवेशनबाटै निष्कर्षमा पुग्ने स्पष्ट पारे।