बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मिथिलामा आजदेखि छठ पर्वको औपचारिक सुरु

शनिबार, कार्तिक ८ २०८२

धनुषा । मिथिलाञ्चलमा आजदेखि चारदिने महान् पर्व छठ औपचारिक रूपमा सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो धार्मिक पर्वका रूपमा मानिने छठका अवसरमा जनकपुरधामका गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरर्वा पोखरीलगायतका घाटहरू आकर्षक रूपमा सजाइँदै छन्।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार विगतका वर्षझैं यस वर्ष पनि गङ्गासागरको आधा भागमा विशेष सजावट गरिएको छ। उहाँले भने, “यसपालि घाटमा सरसफाइ र सजावटका साथै भक्तजनका लागि विगतभन्दा राम्रो व्यवस्था मिलाइएको छ।” समितिले प्रत्येक अघ्र्यका लागि रु ६०० निर्धारण गरेको छ भने श्रद्धालुहरूले स्वेच्छिक रूपमा अघ्र्य राख्ने व्यवस्था गरिएको छ।

गङ्गासागरमा हाल पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ भने झिलिमिली बत्तीको काम जारी छ। गङ्गासागरमा तीनवटा समितिले सजावटको जिम्मा लिएका छन्।

त्यस्तै, अरगजासर पोखरीमा पनि छठको तयारी तीव्र रूपमा भइरहेको समितिका सचिव वीरेन्द्र कर्णले जानकारी दिए। उनका अनुसार दशैँ सकिएसँगै सजावट र सरसफाइको काम सुरु गरिएको हो। “यहाँ हिन्दूहरूसँगै मुस्लिम समुदायका पनि केही व्यक्तिहरू छठमा सहकार्य गर्छन्,” उनले बताए। उनका अनुसार अघ्र्य राख्नेहरूबाट कुनै दबाब बिना नै सहयोगस्वरूप रकम संकलन गरिन्छ। यस पोखरीमा पाँच हजारभन्दा बढी अघ्र्य रहने अनुमान छ।

छठ पर्वका तयारीसँगै बजारमा चहलपहल बढेको छ। जनकपुरधामका बजारहरूमा बाँस र माटोबाट बनेका सामग्रीहरूको बिक्री तीव्र छ। बाँसको छिट्टी, नाङ्लो, कनसुपती र माटोका घैँटा, हात्ती जस्ता वस्तुहरूको माग अत्यधिक रहेको व्यापारीहरूले बताएका छन्।

मिथिलाञ्चलमा यो पर्व घरेलु उत्पादनमै आधारित रहँदै आएको छ। घरका खेतबारीमा उत्पादित गहुँ, चामल धोएर आफ्नै जाँतोमा पिसी त्यसको पिठोबाट छठमा प्रयोग हुने पकवान र सामग्रीहरू तयार पार्ने परम्परा आज पनि कायम छ।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ। भोलि आइतबार ‘खरना’का रूपमा उपवास बस्ने र साँझ खीर चढाएर खाने चलन छ। सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पर्वको समापन गरिनेछ।