काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ ।
यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहसहित पञ्चरंगी वा सप्तरंगी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दछन् ।
दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका र माला लगाई दक्षिणा तथा उपहार प्रदान गर्ने परम्परा रहिआएको छ । शास्त्रीय विश्वास अनुसार दिदीबहिनीले दाजुभाइको पूजा गरेमा ऐश्वर्य र सौभाग्य प्राप्त हुने भनाइ छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यो वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा परेको छ । तथापि, दिनभर टीका लगाउन कुनै बाधा नहुने समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालले बताएका छन् । तर राज्यका उच्च पदाधिकारीहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ ।
यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौं दिनमा परेको समितिले जनाएको छ । सामान्यतया पाँच दिनको तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
टीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्किनुपर्ने धार्मिक परम्परा छ । यसरी गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख हुने विश्वास छ, जसलाई शुभ कर्मका लागि अनुकूल मानिन्छ ।
भाइटीका दिन बिहान लक्ष्मीपूजामा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अंकित अष्टदलमा अष्टचिरञ्जीवी—मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम—सहित चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपति र नवग्रह आदिको पूजाआराधना गरिन्छ ।
पूजा सम्पन्न गरेपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परागत विधिअनुसार टीका लगाइदिन्छन् । त्यसपछि मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाई दीर्घायु र समृद्धिको आशीर्वाद दिइन्छ ।