शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विपिन जोशीको शव आज दिउँसो काठमाडौं ल्याइँदै

सोमबार, कार्तिक ३ २०८२

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका बेला मृत्यु भएका नेपाली युवा विपिन जोशीको शव आज (सोमबार) दिउँसो काठमाडौं ल्याइँदै छ।

सरकारका अनुसार विपिनको शव दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ। विमानस्थलमा उनको सम्मानमा सरकारी स्तरबाट श्रद्धाञ्जली कार्यक्रमको व्यवस्था गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विपिन जोशीको शव बुझ्ने र श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

विपिन जोशी सन् २०२३ मा इजरायलमा हमासको आक्रमणका क्रममा बन्धक बनिएका नेपाली विद्यार्थीमध्ये एक हुन्। लामो खोजीपछि उनको मृत्यु पुष्टि भएको थियो।

यसअघि, इजरायलको तेल अभिभमा आइतबार आयोजित विशेष कार्यक्रममा विपिनप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रममा इजरायली अधिकारी, नेपाली दूतावासका कूटनीतिज्ञ, र स्थानीय नेपाली समुदायका प्रतिनिधिहरू उपस्थित थिए । श्रद्धाञ्जलि दिन विमानस्थल पुगेका नेपालीहरू भावविह्वल देखिएका थिए । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डिएनए परीक्षणपछि असोज २७ गते इजरायली अधिकारीहरूले शव विपिनकै भएको पुष्टि गरेका थिए ।