'सेनाको निगरानीमा रहँदा मोबाइल सिज, गोली चलाउने आदेश दिएको थिइनँ'
काठमाडौं । पार्टीभित्र नेतृत्व परिवर्तनको चर्को दबाबका बीच पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक सक्रियता झनै तीव्र बनाएका छन् ।
‘जेन–जी’ प्रदर्शन उग्र बनेपछि भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली केही दिन सेनाको सुरक्षामा बसेका थिए । त्यसपछि सार्वजनिक जीवनमा फर्किएलगत्तै उनले विभिन्न कार्यक्रममार्फत आन्दोलनका घटनाबारे अनेक तथ्यहरू सार्वजनिक गर्न थालेका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनका सम्बन्धमा केही महत्वपूर्ण खुलासाहरू गरे । उनका अनुसार राजीनामापछि सेनाको निगरानीमा रहँदा उनको मोबाइल फोनसमेत ‘सिज’ गरिएको थियो ।
ओलीले भने, “मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ, मेरो मोबाइलसमेत सिज गरिएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्र मैले मोबाइल फिर्ता पाएँ ।” उनका अनुसार मोबाइल भदौ २७ गते मात्रै फिर्ता भएको हो ।
छानबिन समितिमा बयान नदिने घोषणा
ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा आफू नजाने स्पष्ट पार्दै भने, “कसैले बोलायो भनेर म लुरुलुरु बयान दिन जाने होइन । म लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ, र त्यसको रक्षाका लागि सधैं प्रतिबद्ध छु ।”
‘जेन–जी’को उद्देश्य सरकार परिवर्तन होइन
पूर्वप्रधानमन्त्री ओलीले ‘जेन–जी’ आन्दोलनको मूल उद्देश्य सरकार परिवर्तन नभएको दाबी गरे । उनका अनुसार आन्दोलनका तीन प्रमुख माग थिए—भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल स्वतन्त्रता । “जेन–जीहरूले प्रधानमन्त्रीको राजीनामा होइन, सुधारका माग गरेका थिए,” ओलीले भने, “म ती मागका पक्षमा थिएँ ।”
उनले सामाजिक सञ्जाल बन्द गर्न खोजेको आरोप अस्वीकार गर्दै त्यसलाई “उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने” पक्षमा आफू रहेको दोहोर्याए । साथै भ्रष्टाचारविरुद्ध चर्को स्वर निकाल्नेहरूकै आचरण शंकास्पद भएको टिप्पणी गर्दै ओलीले भने, “भ्रष्टाचारको विरोध गर्न सजिलो छ, तर अहिले सबैभन्दा बढी भ्रष्टाचारीकै स्वर सबैभन्दा चर्को छ । आगो लुकाउन सकिन्छ, धुवाँ लुकाउन सकिँदैन ।”
गोली चलाउने आदेश दिएको थिइनँ
ओलीले भदौ २३–२४ का घटनाबारे तीन कोणबाट हेर्नुपर्ने बताए । उहाँले २३ गते दिउँसोपछि गोली चलाउने आदेश सरकारले नदिएको दाबी गर्दै भने, “जेन–जीहरू आन्दोलनबाट फर्किसकेका थिए, त्यसपछि मोटरसाइकल समूहले ब्यारिकेट तोड्यो र परिस्थितिलाई हिंसात्मक बनायो ।”
पत्रकारहरूप्रति समेत इङ्गित गर्दै ओलीले हिंसाको वातावरण सिर्जना गर्न योगदान भएकाहरूले आत्मालोचना गर्नुपर्ने सुझाव दिए । “अशान्ति र हिंसाको वातारण बनाउन सहयोग गर्नेहरूले आत्मचिन्तन गर्नुपर्छ,” उनले भने ।
प्रचण्डलाई प्रमाण देखाउन चुनौती
ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको भन्ने दाबी असत्य भएको बताए । आफ्नो सिफारिस पत्रमा कुनै व्यक्तिको नाम नउल्लेख गरिएको स्पष्ट पार्दै उनले माओवादी अध्यक्ष प्रचण्डलाई चुनौती दिए, “मेरा शब्दहरू स्पष्ट छन्—संविधानको रक्षाका लागि राष्ट्रपतिले आवश्यक निर्णय लिन सिफारिस गरेको हुँ । त्यसमा सुशीला कार्की भन्ने छैन । प्रचण्डसँग प्रमाण छ भने सार्वजनिक गर्नुस् ।”
“एमालेको क्याप्टेन म नै”
अन्त्यमा ओलीले पार्टीभित्र नेतृत्वबारे कुनै विवाद नरहेको भन्दै आफू नै एमालेको “क्याप्टेन” भएको दाबी गरे । अन्तर्राष्ट्रिय नेताहरूको उमेर उदाहरण दिँदै उनले भने, “अहिले पार्टीमा राय एकै छ—केपी ओली नै क्याप्टेन हो । मसँग अनुभव पनि छ, काम गर्ने मानसिक र शारीरिक क्षमता पनि ।”
उनका अनुसार नेतृत्व उमेरको होइन, समय र परिस्थितिको माग हो, जसका लागि आफू अझै सक्षम रहेको दाबी गरे ।