'राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैन'
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलबीच संवाद र सहकार्य बिना निर्वाचनको वातावरण बन्न नसक्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले देशमा सुरक्षा संकट र अराजकता बढिरहेको दाबी गरे ।
ओलीले हाल प्रहरीले प्रयोग गर्ने एक हजार २०० भन्दा बढी हतियार र एक लाखभन्दा बढी गोली लुटिएका बताउँदै करिब साढे पाँच हजार कैदी फरार रहेको यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन सम्भव नहुने उनको तर्क थियो ।
“जेनजी भाइबहिनीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि उठाएका माग जायज हुन्, तर त्यसका नाममा हिंसा र अराजकता मच्चाउने तत्वको समर्थन गर्न सकिँदैन,” उनले भने, “समाजमा त्रास सिर्जना गरेर सरकार चलाउन वा निर्वाचन गराउनु लोकतान्त्रिक मूल्यविपरीत हो । नागरिकले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आउनु हुँदैन ।”
अध्यक्ष ओलीले विघटित प्रतिनिधि सभाको पुनःस्थापना नै एमालेको स्पष्ट अडान भएको दोहोर्याउँदै कार्यकर्तालाई अडिग रहन आग्रह गरे ।
उनले अहिलेको सरकार “आगजनी, तोडफोड र लुटमारको जगमा बनेको असंवैधानिक सत्ता” भएको आरोप लगाए । “यो संविधान र कानूनले नचिनेको सरकार हो, जसलाई संसद् विघटन गर्ने अधिकार छैन,” ओलीले भने, “जनताको अभिमतबाट बनेको संसद् भंग गर्ने अधिकार कसले दियो रु यो क्रान्ति होइन, प्रतिक्रान्ति हो, जसले देशलाई प्रतिगमनतर्फ धकेलेको छ ।”
ओलीले सरकारले प्रतिशोधपूर्ण व्यवहार प्रदर्शन गरिरहेको र फागुन २१ गते निर्वाचन गराउने भनाइ झूट भएको दाबी गरे । उनका अनुसार सरकार दलहरुलाई निषेध गरेर चुनाव गराउने नाटक गर्दै जनतालाई भ्रममा पार्ने प्रयासमा छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने कुरा हास्यास्पद रहेको ओलीको टिप्पणी थियो ।