महोत्तरी । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिनदेखि यस वर्षको दीपावली (तिहार) पर्व औपचारिक रूपमा सुरु भएको छ। महोत्तरीसहित मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज ‘धनतेरस’ (धनत्रयोदशी) मनाइँदै छ।
मिथिलामा ‘दिवाली’ भनेर चिनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ। आज अपराह्न १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले सन्ध्याकालदेखि नै धातुका नयाँ सामान जोडेर लक्ष्मीको आराधनासहित धनतेरस मनाउने तयारी गरिएको छ। मैथिल कर्मकाण्डका जानकारहरूका अनुसार धनतेरस सन्ध्याकालदेखि सुरु हुने परम्परा हो।
मिथिलामा चाडपर्व र तिथिसम्बन्धी निर्णयहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा हुने परम्परा छ। यद्यपि आजै धनतेरस मनाइए पनि कागपूजा भोलि आइतबार मनाइनेछ। त्यसैगरी लक्ष्मीपूजा सोमबार र गाईपूजा मङ्गलबार गर्ने चलन रहेको पण्डित दिनेशकुमार झा (बर्दिबास–२) बताउँछन्।
यस वर्ष तिथिको भोग घटबढका कारण छ दिनसम्म दीपावली पर्व मनाइने भएको छ। सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि धनतेरसदेखि भैयादूज (भाइटीका) बिहीबारसम्म रहनेछ।
मिथिलामा कार्तिक कृष्ण त्रयोदशीको रात (सूर्यास्तपछिको समय) ‘धनतेरस’को लागि शुभ मुहूर्त मानिन्छ। यस दिन तामा, पित्तल, काँस वा सुनचाँदीका गहना तथा भाँडाकुँडा किनेर घरमा लक्ष्मीपूजा गर्ने परम्परा रहिआएको छ। सन्ध्याकालमा दीप प्रज्वलन गर्दै लक्ष्मी र धन्वन्तरीको आराधना गरेर दीपावली पर्व आरम्भ गरिन्छ।
धनतेरससँगै धन्वन्तरी जयन्ती र काकपूजा आइतबार मनाइनेछन् भने औँसीको रात पर्ने सोमबार लक्ष्मीपूजा र मङ्गलबार बिहान गाईपूजा गरिनेछ। धनतेरस र लक्ष्मीपूजा दुवै रातभरि चल्ने सन्ध्याकालीन विधि हुन्, तर गाईपूजा उज्यालोमा गरिने परम्परा छ।
मिथिला क्षेत्रका पाका व्यक्तिहरूका अनुसार धनतेरसको दिन नयाँ वस्तु किनेर लक्ष्मीलाई प्रसन्न पार्ने चलन पुरानो विश्वास हो। आजको दिनमा नयाँ धातुका सामान किन्नेले धनवृद्धि, टिकाउ र नाफामूलक परिणाम पाउने जनविश्वास छ।