काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त साधन र श्रोत उपलब्ध गराउन आवश्यक कदम चालिने बताएका छन्। ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनका अनुसार, प्रहरीलाई श्रोत र साधनसहित सुसज्जित बनाउनु गृह मन्त्रालयको प्राथमिकता हो। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुने भएकाले यदि प्रहरी पर्याप्त साधन–श्रोतविहीन रहे, कार्य सञ्चालनमा प्रभाव पर्न सक्ने गृह मन्त्रालय र सरकारको चेतावनी रहेको उनले बताए ।
गृहमन्त्री अर्यालले भने,“समाजका हरेक घटनामा प्रहरी नै पहिलो प्रतिक्रिया दिने र कानून कार्यान्वयनमा अग्रपंक्तिमा रहने कारणले प्रहरीमाथि मात्र नभई सरकारप्रति धारणा र प्रतिक्रियामा समेत निशाना बन्ने अवस्था आउँछ। यही भदौ २३ र २४ गतेको विरोध प्रदर्शन यसैको प्रतिविम्ब हो। यस क्रममा नेपाल प्रहरीका तीन जना कर्मचारीले जीवन उत्सर्ग गर्नुभयो। प्रहरीका सांगठनिक र व्यक्तिगत सामान लुटपाट तथा आगजनीमा परेका छन्। न्यून साधन–श्रोतमा कार्य सम्पादन गर्दै आएको नेपाल प्रहरीलाई यस आन्दोलनले ठूलो क्षति पुर्याएको छ। आगामी निर्वाचनमा पनि कार्यमा प्रभाव पर्न सक्छ।”
उनले बढ्दो प्रविधिसँगै नयाँ प्रकारका अपराध बढ्दै गएको उल्लेख गर्दै, यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बनेको बताए ।
गृहमन्त्री अर्यालले नेपाल प्रहरीले देश र नागरिकको सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ पर्याप्त साधन–श्रोतसहित काम गर्न सक्ने गरी तत्काल आवश्यक पहल गृह मन्त्रालयबाट अघि बढाइने बताए ।