काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सांसद सिंहले विद्यालय र मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको रकममध्ये रु. ३८ लाख ५० हजार ३१९ घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए।
उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये सिंहले लिएको रकम झण्डै २८.२५ प्रतिशत हुने आयोगले जनाएको छ।
सिंहले सो रकमको केही हिस्सा आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत जम्मा गराएको प्रमाण फेला परेको अख्तियारको दाबी छ।
आयोगले सांसद सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी विरुद्ध पनि मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरू सबैमाथि सार्वजनिक पदको दुरुपयोग र अवैध लाभ आर्जन गरेको आरोप लगाएको छ।