काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई ‘महायज्ञ’को रूपमा सफल पार्दै नयाँ इतिहास रच्न युवापुस्तालाई आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा विहीबार प्रधानमन्त्री सुशीला कार्की सहित अन्तरिम सरकारका मन्त्रीहरू र ‘जेन–जी’ आन्दोलनका प्रतिनिधिहरूसँग भएको छलफलमा राष्ट्रपति पौडेलले निर्वाचनलाई सामान्य घटना होइन, देशको रूपान्तरणको अवसरको रूपमा लिनुपर्ने बताए ।
उनले भने, “युवा पुस्ताले चाहेको देश भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातबाट मुक्त होस्। त्यसैले यो निर्वाचनलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिनुपर्छ।”
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, उनले युवाहरूलाई चुनावमा अग्रसर भएर इमानदार र योग्य प्रतिनिधि चयन गर्न आह्वान गरेका हुन् ।
“चुनावमार्फत असलहरू जितून्, भ्रष्ट र बदमासहरू पराजित होऊन्। त्यसपछि देश न्याय र सुशासनको बाटोमा अघि बढोस्,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले बताए ।
राष्ट्रपतिले थप भने आफू कार्यकारी नभए पनि युवाहरूको आन्दोलनको सम्मानस्वरूप सरकारले सहभागी र जेन–जी प्रतिनिधिहरू उपस्थित रहने गरी छलफल आयोजना गरिएको हो। उनले आन्दोलनका बाँकी मागहरूमा पनि सरकारले संवेदनशील भएर ध्यान दिने विश्वास व्यक्त गरे ।
पौडेलले अन्तरिम सरकारको गठनलाई युवाहरूको आन्दोलनको उपलब्धि र संवैधानिक सफलताका रूपमा लिँदै यसले देशमा सुशासन र पारदर्शिता स्थापनाको बाटो खुलाउने विश्वास व्यक्त गरे। साथै, “आन्दोलनको नाममा व्यक्तिगत स्वार्थ साध्नेहरूबाट सचेत रहनुहोस्,” भन्दै युवाहरूलाई सावधान गराए।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको देश र युवाप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै भनिन्, “उहाँले रातदिन नसोची देशको संकट सम्हाल्न गरेको प्रयास प्रेरणादायी छ। उहाँको यो भनाइ राष्ट्रपतिको होइन, देशप्रेमी अभिभावकको हृदयको आवाज हो।”
‘जेन–जी’का प्रतिनिधिहरूले पनि आफ्नो आन्दोलन सामाजिक र आर्थिक न्यायको माग र सुशासनको पक्षमा केन्द्रित रहेको स्पष्ट पार्दै भने, “हाम्रो आन्दोलन संविधान, लोकतन्त्र र संघीयताको विपक्षमा होइन, सुधारका लागि हो।”
उनीहरूले निर्वाचनलाई पूर्ण रूपमा सम्पन्न गर्नुपर्नेमा दृढ रहँदै सरकार र राष्ट्रपतिले आन्दोलनका जायज मागहरू कार्यान्वयन गर्नुपर्ने माग पनि राखे।
बैठकमा प्रधानमन्त्री कार्कीका साथै अन्तरिम मन्त्रीहरू र जेन–जीका मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी रहेका थिए।