बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले बैठक : विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणबारे फेरि उठ्यो कुरो

बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन करिब ५० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । बुधबार बोल्ने अधिकांश नेता अध्यक्ष केपी शर्मा ओली निकट रहे पनि केही नेताहरूले पार्टी नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने धारणा समेत राखे ।

बैठकमा बोल्ने नेताहरूले जटिल राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीलाई एक्ल्याउन नहुने भन्दै उनको बचाउ गरेका थिए । तर केही नेताहरूले भने ओलीले पनि कांग्रेसका सभापति शेरबहादुर देउवाले जस्तै राजनीतिक निर्णय गरेर बिदा हुनुपर्ने सुझाव दिए ।

बैठकको सुरुवातमै अध्यक्ष ओलीले आफूविरुद्ध सामाजिक सञ्जाल र सचिवालयमा आलोचना गर्नेहरूलाई चेतावनीसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले भने, “केपी ओली बिग्रेको भए पो सप्रिनू, म बिग्रिएको छैन। बिग्रिएको देख्नेहरूले पहिले आफू सप्रिनुपर्छ।”

ओलीले दुई दिने जेन–जी आन्दोलनका कारण गत भदौ २४ गते दुईतिहाइको सत्ता गुमाए पनि आफ्नो कुनै गल्ती नभएको जिकिर गरेका छन् । उनले ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आन्दोलनमा ‘स्वदेशी र विदेशी शक्तिको घुसपैठ’ भएको दाबी गर्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दोषी ठहराएका छन् ।

भदौ २३ गते काठमाडौं र इटहरीमा भएको गोलीकाण्डमा १९ जनाको मृत्यु भएको घटनामा ओलीले दु:ख व्यक्त गरे पनि त्यसको नैतिक जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषय पनि उठ्यो । सरिता न्यौपाने, शर्मिला कार्की, विद्यासुन्दर शाक्य, लक्ष्मण ज्ञवाली, विजय सुवेदीलगायत ६ जना नेताले भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउनुपर्ने माग गरे ।

बैठकमा पूर्वशिक्षामन्त्री तथा केन्द्रीय सदस्य विद्या भट्टराईले पार्टीले विकसित परिस्थितिको गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । उनले भनिन्,

“कांग्रेसले जस्तो राजनीतिक निर्णय गर्न सक्नुपर्छ । अहिलेको अवस्थाको कारण हाम्रै सरकारमाथिको अविश्वास हो, त्यसलाई स्वीकार गर्नुपर्छ।”

भट्टराईले समावेशी लोकतन्त्र, मौलिक हकको कार्यान्वयन, कार्यकर्ता उत्साह जगाउने ठोस रणनीति र एकल निर्णयको अन्त्यका लागि चार बुँदे सुझाव दिइन् ।