बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः राजेन्द्र पाण्डे

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन–जी आन्दोलनका मागहरू तत्काल पूरा हुन नसक्ने र अबको ६ वर्षपछि मात्रै सम्भव हुने बताएका छन्।

बुधवार सभामुख देवराज घिमिरेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले भने, संसद् विघटन नभएको भए अहिलेको संसद्बाटै संविधान संशोधन गरेर जेन–जीका मागहरू सम्बोधन गर्न सकिन्थ्यो, तर अहिले त्यो अवस्था छैन। उनका अनुसार, अब बन्ने नयाँ संसद्ले पनि कार्यकालको अन्त्यतिर मात्रै संविधान संशोधन गर्न सक्ने सम्भावना छ, जसका कारण जेन–जीका मागहरू ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउँछ।

पाण्डेले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारामा नटेकिएको आरोप लगाए। उनले भने, “अहिलेका मन्त्रीहरू चुनाव गराउनेभन्दा पनि राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ लागेका छन्। अन्तरिम सरकारका मन्त्रीहरू नै निर्वाचन नहुने किसिमका वक्तव्य दिँदै हिँडिरहेका छन्।”

उनका अनुसार, सभामुखको पहलमा सिंहदरबारमा छलफल गर्नुपर्नेमा शीतल निवासमा दलहरूलाई बोलाउनु नै गलत निर्णय हो। उनले देशको सुरक्षा अवस्थामाथि पनि चिन्ता व्यक्त गर्दै भने, “८ हजार कैदी फरार छन्, १ हजार २ सयभन्दा बढी हातहतियार लुटिएका छन् र ९८ हजार गोली हराएका छन्। यस्तो अवस्थामा निष्पक्ष निर्वाचन सम्भव छैन।”