बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो

बुधबार, असोज २९ २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ (२) बमोजिम बुधबार अपरान्ह ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन्। अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई कार्यवाहक रूपमा जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री सिंहले प्रदेशसभाको रोष्ट्रमबाट राजीनामा घोषणा गर्दै आफ्नो पार्टी जनमत र सरकारमा सहभागी दलहरूले वचन फेरेको आरोप लगाए।
उनले भने, “म सत्ता र पदका लागि होइन, जनताको हित र संविधानको रक्षाका लागि काम गर्न चाहन्छु। वर्तमान परिस्थितिमा मार्गप्रशस्त गर्दै म मुख्यमन्त्री पदबाट राजीनामा गर्छु।”

मंगलबार सिंहले विश्वासको मत लिने तय गरे पनि बहुमतको सम्भावना नदेखिएपछि उनले प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिएका हुन्।