वाशिङ्गटन डिसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल पछिल्ला दुई दिनदेखि लगातार भेटघाट र छलफलमा व्यस्त रहेका छन्।
मङ्गलबार अर्थमन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्दै द्विपक्षीय व्यापार विस्तार र कर नीतिहरूका विषयमा विस्तृत छलफल गरेका थिए। उक्त छलफल उपयोगी र सकारात्मक भएको जानकारी वाशिङ्गटनस्थित नेपाली राजदूतावासले जनाएको छ। भेटमा अमेरिका र नेपाल दुवै देशका उच्च अधिकारीहरूको सहभागिता थियो।
त्यसैदिन मन्त्री खनालले साउदी फण्ड फर डेभलपमेन्टका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग पनि भेट गर्दै नेपालमा विकास सहकार्य र लगानी सम्भावनाबारे विचार विमर्श गरेका थिए।
यसअघि, मन्त्री खनालले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै बैठक गरेका थिए।
भेटघाटका क्रममा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, मन्त्री खनालको भ्रमणदलका सदस्यहरू र अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।