काठमाडौँ । दुई वर्षअघि प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरू गरिएको छ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी जोशीको शवबारे थप पुष्टि गरेको र नेपाल ल्याउने प्रक्रिया प्रारम्भ भएको जानकारी दिइएको छ।
मन्त्रालयका अनुसार विपिनको शव नेपाल ल्याएपछि पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन, न्याय सुनिश्चित गर्न तथा परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति र बिमा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकारले निरन्तर पहल गर्नेछ।
परराष्ट्र सचिव अमृतबहादुर राईले आज अपराह्न इजरायलका परराष्ट्र मन्त्रालयका ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन वार्ता गरी जोशीको निधनबारे औपचारिक जानकारी प्राप्त गरेको मन्त्रालयले उल्लेख गरेको छ।
इजरायल र हमासबीच दुई वर्ष लामो द्वन्द्वपछि भएको युद्धविरामपछि सोमबार हमासले जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको थियो।
सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका जोशी इजरायलमा सिक्दै र काम गर्दै सहभागी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत थिए। नेपाल सरकारले उनको सकुशल रिहाइका लागि सुरुदेखि नै विभिन्न तह र माध्यमबाट प्रयास जारी राखेको थियो।
सन् २०२५ अक्टोबर १३ का दिन इजरायल र हमासबीच युद्धविराम भएपछि इजरायली सेनाले नेपाली दूतावास, जोशीका परिवारका सदस्य र इजरायली अधिकारीहरूसँगको भर्चुअल बैठकमा विपिन जोशीको नाम रिहा हुने सूचीमा नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको थियो।
परराष्ट्र मन्त्रालयले विपिनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।