बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संविधान जोखिममा छ, निष्पक्ष निर्वाचनका लागि सरकार जिम्मेवार बनोस् : देउवा

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीलाई एकताबद्ध र सुसङ्गठित बनाएर लोकतान्त्रिक मूल्य र व्यवस्थाको रक्षा गर्न आह्वान गरेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान नै अहिले जोखिममा परेको दाबी गरे। उनका अनुसार जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिनु लोकतान्त्रिक प्रणालीमाथिको ठूलो आघात हो।

देउवाले भने, “सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ, तर स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण निर्माण हुन सकेको छैन।”

उनका अनुसार निर्वाचनको पूर्वशर्त शान्ति–सुरक्षाको ग्यारेन्टी नै हो, जुन हाल देखिँदैन। “सुरक्षा निकायको मनोबल खस्किएको छ र उनीहरू निरीहजस्ता बनेका छन्,” देउवाले भने, “त्यसैले शान्तिपूर्ण, निष्पक्ष र स्वतःस्फूर्त सहभागितासहितको निर्वाचन सुनिश्चित गर्न सरकारले तुरुन्तै जिम्मेवारीपूर्वक कदम चाल्नुपर्छ।”

उनले देशलाई संवैधानिक बाटोमा फर्काउने प्रमुख जिम्मा सरकारकै भएको उल्लेख गर्दै निर्वाचन अनुकूल वातावरण सिर्जनामा ध्यान दिन आग्रह गरे।