इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । दस दिन बितिसक्दा पनि वैकल्पिक बाटो सञ्चालन हुन नसक्दा यात्रु तथा यातायात व्यवसायीलाई ठूलो सास्ती भएको छ ।
माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको उच्च बहाव र आवश्यक ह्युमपाइप अभावका कारण तत्काल सडक सञ्चालन गर्न नसकिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
“हामीले राजदुवाली क्षेत्रमा धेरै प्रयास गर्यौं, तर सफलता नपाएपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माण भइरहेको छ,” भट्टराईले भने, “ह्युमपाइप अभावका कारण केही दिन ढिलाइ हुनेछ । पाँचथरबाट ह्युमपाइप मङ्गलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ ।” हाल डाइभर्सन निर्माणमा चारवटा स्काभेटर परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवालासँगको स्थलगत निरीक्षणपछि तिल्केनी–सिमलगोलाइ सडकलाई मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । “सडक चाँडो सञ्चालन गर्न पहल भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी गणेश नेपालले भने, “प्राविधिक पक्ष सडक डिभिजनले सम्हालिरहेको छ, हामी निरन्तर समन्वयमा छौं ।”
गत असोज १८ गतेको बाढीले इलाम–राजदुवाली सडकखण्डको बेलीब्रिज बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । उक्त बेलीब्रिज गत असारमै निर्माण सम्पन्न गरिएको थियो ।
हाल तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्ग हुँदै साना सवारी सञ्चालनमा छन्, तर ठूला तथा मालवाहक सवारीका लागि उपयुक्त वैकल्पिक मार्ग पहिचान हुन सकेको छैन । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन कठिन रहेको प्रजिअ नेपालले बताए ।
वर्षासँगै आएको पहिरो र पुल बगाउँदा इलाम जिल्ला विगत १० दिनदेखि झापा जिल्लासँग सडक सञ्जालबाट विच्छेद भएको छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रुहरू आवागमन समस्यामा परेका छन् । जटिल भौगोलिक संरचनाका कारण तत्काल राजमार्ग पुनः सञ्चालन हुने सम्भावना न्यून रहेको सडक डिभिजनका प्रमुख भट्टराईको भनाइ छ ।