बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह

मंगलबार, असोज २८ २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचीमै मुख्यमन्त्री सिंहको विश्वास मत प्रस्ताव समावेश गरिएको छ ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभामा पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गर्न अनुरोध गरेका थिए । सोही अनुसार आज असोज २८ गतेका लागि प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

सिंहले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तीव्र बनेको बेला फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले आफ्नो निर्णय फेरेका थिए ।

उनको बोली फेरेपछि जनमत पार्टीले भदौ ३१ गते मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरी सरकारप्रति समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।

संविधानअनुसार समर्थन फिर्ता भएको मितिदेखि ३० दिनभित्र प्रदेश प्रमुखले संसदबाट विश्वासको मत लिनु पर्ने व्यवस्था भएकाले आजको बैठकमा सिंहको राजनीतिक भविष्य टुंगो लाग्ने देखिएको छ ।