काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरामाथि सुन तस्करी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।
सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका महरालाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्नेबारे अदालतले बहसपछि निर्णय गर्नेछ ।
तीन वर्षअघिको सुन तस्करी घटनामा संलग्न रहेको आरोपमा महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियो । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ ।
उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको छ ।