बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलबार, असोज २८ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट, भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित ७ जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयाेगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार भेरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, खलंगाले आर्थिक वर्ष २०८०/८१ मा संघीय, प्रदेश र स्थानीय सरकारको समपूरक अनुदान अन्तर्गत “कारागार–रानागाउँ–नेटीबजार सडक निर्माण” (ठेक्का नं. BM/NCB/Works-03-2080/81) परियोजना कार्यान्वयनका क्रममा मिलेमतो गरी सर्वाधिक अंक कबोल गर्ने ठेकेदार थापा/सविन/सुदर्शन जे.भी. लाई अनुचितरूपमा ठेक्का दिएको उजुरीका आधारमा अनुसन्धान गरिएको हो।

सो सडक निर्माणका लागि रु. २,८०,००,०००।– (दुई करोड असी लाख) विनियोजन भएकोमा भ्याट, PS र कन्टिजेन्सी सहित रु. २,८०,४२,७४३।११ को लागत अनुमान स्वीकृत गरिएको थियो।

नगरपालिकाले मिति २०८०।०८।१० गते ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन नगरी केवल सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP Portal (www.bolptra.gov.np/eGP) मार्फत मात्र बोलपत्र आह्वान गरेको पाइएको छ। यसरी सूचना प्रकाशन नगरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४(१) को उल्लङ्घन गरिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको हो।

त्यसका साथै, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५१(१) विपरीत निर्माणस्थल भ्रमणलाई अनिवार्य शर्तको रूपमा राखी अन्य इच्छुक बोलपत्रदातालाई प्रतिस्पर्धाबाट बाहेक गरिएको पाइएको छ।

मूल्याङ्कन समितिले Bid Document मा उल्लेख नभएका शर्तहरू (Site Visit Certification) का आधारमा ६ वटा बोलपत्रदातालाई प्राविधिक रूपमा अस्वीकृत (Disqualify) गरी एक मात्र लक्षित बोलपत्रदाता लाई योग्य ठहर गरेको प्रमाण भेटिएको छ।

त्यसरी छनोट गरिएको ठेकेदारको कबोल रकम र न्यून कबोल गर्ने बोलपत्रबीच रु. ८१,५३,६३०।५१ (एकासी लाख त्रिपन्न हजार छ सय तीस रुपैयाँ एकाउन्न पैसा) को अन्तर देखिएको छ ।