काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबारदेखि गुण्डुमा जारी छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको बैठक शनिबार पुनः सुरु भई आज टुंग्याउने तयारी भएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले पार्टी महाधिवेशनको मिति तय गर्नेछ र उक्त मितिलाई अनुमोदन गर्नका लागि केन्द्रीय कमिटीको बैठक बोलाइनेछ।
१८ सदस्यीय सचिवालयमध्ये शुक्रबार ९ जनाले आफ्ना धारणा राखेका थिए भने बाँकी ९ जनाले आज बोल्नेछन्। ज्ञवालीका अनुसार सबैको भनाइ सुनेपछि बैठकले केही जरुरी निर्णय गरेर समापन गरिनेछ।
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले प्रारम्भिक भनाइ राखेका थिए। त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
जेन–जी आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई मध्यनजर गर्दै एमालेमा नेतृत्वको पुस्तान्तरण, संसद् पुनःस्थापनाको एजेन्डा र आगामी चुनावी तयारीबारे तीन खाले बहस चलिरहेको छ। यी विषयहरूको स्पष्ट निरुपण आजकै बैठकले गर्ने बताइएको छ।
त्यस्तै, पार्टीभित्र पूर्व उपाध्यक्षसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेर सक्रिय रूपमा जोडिनुपर्ने मत पनि बढ्दै गएको सचिवालय स्रोतले जनाएको छ।