बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रचण्डको घरबाट ‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी असत्य : सचिवालय

आइतबार, असोज २६ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ भन्ने दाबीलाई प्रचण्ड सचिवालयले असत्य र निराधार बताएको छ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा उक्त आरोप पूर्ण रूपमा तथ्यहीन भएको उल्लेख गर्दै प्रमाणसहित पुष्टि गर्न चुनौती दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार दाबी प्रमाणित गर्न चुनौती दिन्छौं।”

सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्ने दाबी पनि गलत र उद्देश्यप्रेरित भएको स्पष्ट पारेको छ।

जेन-जी आन्दोलनको दोस्रो दिन, २४ भदौमा, प्रचण्ड र उनकी छोरीहरू रेणु दाहाल र गंगा दाहालका घरमा आगजनी भएको थियो। त्यसपछि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब अन्तर्वार्तामा प्रचण्डको घरबाट दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका थिए।

सचिवालयले डिजिटल माध्यममार्फत गरिएका यस्ता भ्रामक दाबीहरू साइबर कानुनविपरीत भएको भन्दै सम्बन्धित निकायलाई तत्काल अनुसन्धान र कानुनी कारबाही गर्न आग्रह गरेको छ।