बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश थिएन : पूर्वगृहमन्त्री लेखक

शनिबार, असोज २५ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न आफू वा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै आदेश नदिएको दाबी गरेका छन् ।

शुक्रबार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले आन्दोलनका बेला प्रहरीलाई बल प्रयोग गर्न सरकारबाट कुनै निर्देशन नदिएको स्पष्ट पारे । उनले भने, “जेन–जी आन्दोलनको क्रममा प्रहरीलाई बल प्रयोग गर्न प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिएको भन्ने कुरा निराधार हो । यस्तो आदेश दिने कुरा नै हुँदैन ।”

आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लेखकले पहिलो दिनमै ठूलो क्षति भएपछि नै गृहमन्त्री पदबाट राजीनामा दिएको स्मरण गरे। “त्यो दिनका घटनाहरू निकै दुःखद् थिए, धेरैको ज्यान गयो, सरकारी संरचना र निजी आवासहरूमा आगजनी भयो । ती घटनाहरूका कारण मैले तुरुन्तै राजीनामा दिएको कुरा यहाँहरूलाई थाहा नै छ,” उनले बताए ।

लेखकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पार्टीभित्र निरन्तर छलफल भइरहेको जानकारी पनि दिए । उनका अनुसार, नेपाली कांग्रेसले देशको राजनीतिक स्थिरता र आगामी कार्यनीति तय गर्न गम्भीर रूपमा आन्तरिक समीक्षा गर्दैछ ।