बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने लिखित सिफारिस ओलीले गरेकाे प्रचण्डकाे दाबी

शनिबार, असोज २५ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीकै लिखित सिफारिस रहेको खुलासा गरेका छन् ।

शुक्रबार सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले भने, “कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने उहाँ (ओली) नै हो । केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।”

उनले अहिले ओलीले दिएको अभिव्यक्ति , ‘यो सरकार हाहा हुहुको भरमा बनेको हो’ भन्ने कुराकाे खण्डन गर्दै भने, “अब उहाँ नै सिफारिसकर्ता भएर पनि यस्तो भन्न मिल्छ त ?”

फरक प्रसंगमा प्रचण्डले आफू निरन्तर पार्टीको प्रमुख रहिरहनैपर्ने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, “मेरो नेचर पलायन हुने वा रिटायर्ड जीवन बिताउने होइन । तर, अब म अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने सोचमा छैन । नयाँ नेतृत्व निर्माणका लागि निश्चित प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु ।”

उनका अनुसार, यही उद्देश्यले माओवादी केन्द्रलाई विशेष महाधिवेशनको तयारीतर्फ लैजाने निर्णय गरिएको छ, जहाँ पुरानो नेतृत्वले नयाँ पुस्तालाई स्थान दिने र आफूहरूले नयाँ भूमिकामा जाने बाटो खुला गर्नेछन् ।