बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले सचिवालय :

ओलीको राजीनामा माग र पार्टी पुनर्गठनको पक्षमा नेताहरु

भण्डारीको पक्षमा नेताहरूको समर्थन बढ्दै

शनिबार, असोज २५ २०८२

काठमाडौं । एमाले सचिवालय बैठकमा पार्टी पुनर्गठनबारे सशक्त आवाज उठेको छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले युवाहरूको आन्दोलनको मर्म आत्मसात् गर्दै अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन् ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतले पनि धारणा राखेका थिए ।

यद्यपि, ओलीको राजीनामा माग्ने शाक्य एक्लै रहिन् । तर अधिकांश सदस्यहरूले भने पार्टी पुनर्गठन र नेतृत्वमा परिवर्तनको आवश्यकता औंल्याएका छन् । “अब यथास्थितिबाट पार्टी चल्दैन, व्यापक पुनर्गठन अपरिहार्य छ,” एक नेताले भने ।

बैठक शुरू गर्ने क्रममा ओलीले सार्वजनिक रुपमा भनेकै जस्तै आफूविरुद्ध षडयन्त्र भएको ब्रिफिङ गरेका थिए । जेनजीका नाममा आफू नेतृत्वको सरकार ढाल्ने र एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको तर्क ओलीले गरेका थिए । तर शाक्यले नयाँ पुस्तालाई पार्टीको भविष्य जिम्मा लगाउनुपर्ने प्रस्ताव राखिन् ।

बिहीबार गुन्डुमै सार्वजनिक कार्यक्रम गरेर ओली सहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्नेबारे दिएको मन्तव्यमा पनि नेताहरूले असहमति जनाएका थिए ।

एमाले सचिवालयमा विद्या भण्डारीको पक्षमा बलियो आवाज

एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको पक्षमा नेताहरूको समर्थन बढ्दै गएको छ ।

शुक्रबार बसेको बैठकमा पदाधिकारीहरूले भण्डारीको पार्टी सदस्यता नवीकरण अनावश्यक रूपमा रोकिँदा त्यसले पार्टीभित्र नकारात्मक सन्देश दिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले यस्तो कदमले संगठनभित्र अनावश्यक विवाद र असमझदारी उत्पन्न भएको चेतावनी दिएका छन् ।

बैठकमा सहभागी आठ पदाधिकारीमध्ये पाँच जनाले भण्डारीको सदस्यता विवादले कार्यकर्ताहरूबीच विभाजन र असन्तोष बढाएको धारणा राखेका थिए । ती नेताहरूले सदस्यता जस्तो साधारण विषयलाई विवादमा तान्दा नेतृत्वको निर्णयप्रति तल्लो तहसम्म असन्तोष फैलिएको भन्दै विषयलाई चाँडो समाधान गर्न आग्रह गरेका छन् ।

यस विषयमा थप छलफल शनिबार बस्ने सचिवालय बैठकमा हुने जनाएको छ ।

सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू यसअघि नै भण्डारीलाई निषेध गर्न नहुने पक्षमा उभिँदै आएका थिए, भने शुक्रबारको बैठकमा उनीहरूलाई थप नेताहरूको साथ मिलेको छ ।

बैठकमा सहभागी आठ पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गुरु बराल र उपमहासचिव प्रदीप ज्ञवाली बाहेक सबैले भण्डारीलाई पार्टी सदस्यता पुनः प्रदान गर्नुपर्ने मत राखेका थिए । उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ पनि भण्डारीलाई पार्टीमा स्वागत गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् ।

शाक्य र बरालले भने भण्डारीजस्ता सम्मानित व्यक्ति, जसले दुई कार्यकालसम्म उच्च जिम्मेवारी सम्हालेकी थिइन्, पुनः पार्टी राजनीतिमा फर्कनु उचित नहुने तर्क गरे । तर, शाक्यले अलग रूपमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित राय समेत प्रस्तुत गरेकी छन् ।

बैठकमा अधिकांश पदाधिकारीहरूले भण्डारीको सदस्यता रोकिँदा पार्टीभित्र निराशा फैलिएको, लोकतान्त्रिक अभ्यासमा प्रश्न उठेको र तल्लो तहसम्म असन्तुष्टि बढेको उल्लेख गरेका थिए । उनीहरूले संविधान र पार्टी विधानले ननिषेधेको कुरालाई पार्टी निर्णयबाट रोक्नु अनुचित भएको बताउँदै भण्डारीको सदस्यता तत्काल खुलाउन माग गरेका छन् ।