शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेनजी आन्दोलनसम्बन्धी ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता

शुक्रबार, असोज २४ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी आज जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता पठाइएको छ ।

जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले गठन गरेको आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार उक्त जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने भएकाले प्रहरीमै फिर्ता पठाइएको हो । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै फौजदारी किसिमका वारदातमा विस्तृत अनुसन्धान, तहकिकात र अभियोजन गर्ने काम आयोगको कार्यक्षेत्रमा नपर्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा आयोगलाई घटनाका भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने, क्षतिसम्बन्धी निवेदन ग्रहण र विश्लेषण गर्ने तथा आवश्यक सिफारिस दिने कार्यादेश मात्र प्राप्त भएको उल्लेख छ ।

आयोगले फौजदारी अनुसन्धानका कार्यका लागि आयोगको प्रतिवेदन कुर्नु नपर्ने पनि स्पष्ट पारेको छ ।