काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई संविधानविपरीत र बलमिच्याईंको परिणामका रूपमा वर्णन गर्दै देशको परिस्थिति “असाधारण र असामान्य” रहेको टिप्पणी गरेका छन् ।
भक्तपुरमा बिहीबार एमाले जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै ओलीले अहिलेको सरकार संविधानअनुसार बनेको होइन भन्दै यसको वैधानिकता र नैतिकतामाथि प्रश्न उठाए ।
उनले भने, “संसद् भंगको शर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो, तर नेपालको संविधान स्पष्ट भन्छ— सर्वोच्च अदालतको न्यायाधीश वा पूर्व प्रधानन्यायाधीश कुनै पनि सरकारी लाभको पदमा बस्न सक्दैन। उहाँलाई यो कुरा राम्ररी थाहा छ, तर पनि उहाँ सडकमा उत्रिनुभयो।”
ओलीले कार्की नेतृत्वको सरकार गठनलाई “हा–हुबाट बनेको सरकार” भन्दै त्यसको उत्पत्तिलाई संविधानिक भन्दा पनि राजनीतिक षड्यन्त्रको परिणामको रूपमा चित्रण गर्नुभयो। “यो कसैको प्रतिनिधि सरकार हो, नेपाली जनताको होइन,” उनले टिप्पणी गरे।
अहिले राति–राति बैठक गरेर आफूलाई पक्राउ गर्ने तयारी भइरहेको दाबी गर्दै ओलीले भने, “सुशीला कार्कीहरू आफैंले पासपोर्ट रोक्का गरेर तमाशा देखाउँदैछन्। केपी ओली कसैको डरले भाग्ने मान्छे होइन।”
गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ इङ्गित गर्दै ओलीले थपे “अहिलेका गृहमन्त्रीबारे मैले पहिले कहिल्यै सुनेको थिइनँ। गृहमन्त्री भएपछि मात्रै नाम थाहा भयो। उनलाई मेरो सुझाव यही हो— धेरै उत्ताउलो नबनिनुहोस्, देश चलाउने कुरा ख्यालठट्टा होइन।”
उनले देशको रक्षा र राष्ट्रिय स्वाभिमानको सवालमा एमाले “जुनसुकै बलिदान दिन तयार” रहेको चेतावनीसमेत दिए। “देशलाई तलमाथि हुन दिँदैनौं, डर देखाएर, धम्की दिएर हामीलाई झुकाउन सकिँदैन,” ओलीको भनाइ थियो।