काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले यातायात अवरुद्ध पारेको छ। आज बिहान ८ बजे सम्मको विवरण अनुसार, ९ वटा सडकखण्ड पूर्णरूपमा बन्द रहेका छन् भने ३ वटा सडकखण्ड एकतर्फी सञ्चालन भइरहेका छन्।
प्रहरीका अनुसार, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–१ एकुवा क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन रोकिएको छ।
यसैगरी देशका अन्य पहाडी र तराईका केही राजमार्गहरूमा पनि वर्षाले सडक ध्वस्त पार्दै सवारीसाधन आवतजावतमा समस्या भएको जनाइएको छ। सडक विभाग र स्थानीय प्रशासनले पहिरो पन्छाउने काम सुरु गरे पनि निरन्तर वर्षाले उद्धार र मर्मत कार्यमा कठिनाइ भइरहेको बताइएको छ।
प्रहरीले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
