शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय परिषद्को बैठक बस्दै

मंगलबार, असोज २१ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बिहान साढे ११ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दैछ। बैठकमा हालैको भारी वर्षा र बाढी–पहिरोका कारण उत्पन्न विपत्ती र त्यसपश्चातको राहत तथा पुनःनिर्माणका विषयमा छलफल हुने भएको छ।

बैठकको एजेण्डा अनुसार पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक तथा यातायात पुनःसञ्चालन गर्ने, मृतक र बेपत्ता परिवारलाई कानुनअनुसार राहत उपलब्ध गराउने, भौतिक संरचना जस्तै बाटाघाटा, पुल र जलविद्युत् आयोजना पुनःनिर्माण गर्ने, विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने र अस्थायी आवास निर्माण गर्ने लगायत कुल ९ एजेण्डामा छलफल तथा निर्णय हुने तयारी गरिएको छ।

असोज १७, १८ र १९ गतेको भारी वर्षाका कारण देशभर ६० जनाको ज्यान गएको थियो। सबैभन्दा धेरै क्षति इलाममा भएको छ भने बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा करोडौंको क्षति पुगेको छ।

बैठकले तत्कालिन राहत व्यवस्थापनसँगै दिगो पुनःनिर्माणका लागि आवश्यक कदमहरु तय गर्ने अपेक्षा गरिएको छ।