शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सात सहसचिवको सरुवा र हेरफेर गर्ने कार्की क्याविनेटको निर्णय

मंगलबार, असोज २१ २०८२

काठमाडौं । सरकारले सात जना सहसचिवहरूको सरुवा गरेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरूसहित सात जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका क्षमता विकास महाशाखा प्रमुख रुद्रसिंह तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने सोही मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार महाशाखा प्रमुख गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा, र राष्ट्रिय योजना आयोगका अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख जीवलाल भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका छवीन्द्र पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ।

यस्तै, भुटानी शरणार्थी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा सरुवा गरिएको छ।