सोलुखुम्बु । सगरमाथा क्षेत्रको खुम्बुमा यस वर्ष असोजमै हिमपात भएपछि जनजीवन, पर्यटन र स्थानीय व्यवसाय प्रभावित भएका छन् । शरद् ऋतु सुरु हुनासाथ पर्यटकहरूको चहलपहल बढ्ने समयमै परेको असामान्य हिमपातले स्थानीयहरूलाई अचम्ममा पारेको छ ।
गत आइतबार बिहानदेखि सुरु भएको वर्षा र हिमपातका कारण नाम्चेभन्दा माथिल्लो क्षेत्र — दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो — सेताम्य बनेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार हिमपातपछि माथिल्लो क्षेत्रमा चार फिटभन्दा बढी हिउँ जमेको छ । “नाम्चेभन्दा माथिल्लो क्षेत्रमा जनजीवन प्रभावित बनेको छ,” उहाँले भन्नुभयो, “दिङ्बोचेका पाँच होटल हिमपातको भारले भासिएका छन्, तर मानवीय क्षति भने भएको छैन ।”
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार लगातारको वर्षा र हिउँको भारले छानाको संरचना भत्किँदा होटलहरू भासिएका हुन् । उनले भने, “आर्थिक क्षति भएको छ, तर जनहानि छैन । पर्यटन याम सुरु भइसकेको बेला परेको हिमपातले व्यवसायीलाई थप चिन्तित बनाएको छ ।”
असामान्य मौसमी परिवर्तन
खुम्बुमा असोज महिनामै हिमपात हुनु दुर्लभ मानिन्छ । सामान्यतया यहाँ मङ्सिरदेखि माघ महिनासम्म मात्र बाक्लो हिउँ पर्थ्यो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले यसलाई जलवायु परिवर्तनको संकेत बताउँदै भने, “असोजमा हिउँ पर्नु असामान्य हो, यो मौसमीय असन्तुलनको परिणाम हो । पहिले समय निश्चित भएर हिउँ पर्थ्यो, अहिले त्यो तालमेल हराइसकेको छ ।”
हिमपातपछि तापक्रम तीव्र रूपमा घट्दा स्थानीयको दैनिक जीवन प्रभावित भएको छ । केही क्षेत्रमा हिउँ पग्लिन थाले पनि चिसोका कारण जनजीवन सुस्त बनेको छ । खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम समेत रोकिएको छ । “कामदारहरू चिसोका कारण नाम्चे झरेका छन्,” वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो, “मौसम अनुकूल भएपछि मात्र पुनः काम सुरु हुनेछ ।”
हिमाली जीवनमा जलवायु परिवर्तनको प्रभाव
पछिल्ला वर्षमा खुम्बु क्षेत्रमा अप्रत्याशित मौसमी परिवर्तनहरू देखिन थालेका छन् । कहिले असोजमै हिउँ पर्छ, कहिले माघमा हिउँ नपर्ने अवस्था हुन्छ । वातावरणविद्हरूका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनले हिमालमा हिउँको मात्रा घटाउँदै लगे पनि छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् ।
स्थानीय व्यवसायी तोयकुमार श्रेष्ठका अनुसार, “पहिले असोजदेखि मङ्सिरसम्म पर्यटनको राम्रो समय रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने र होटल खाली हुने समस्या छ ।”
“हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ”
खुम्बुका स्थानीयले असोजमै हिमपात भएपछि जलवायु सन्तुलनका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने माग गरेका छन् । “अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य समयमा आउँछ- यो हिमालको रूपान्तरण हो,” नाम्चे निवासी सुमन मोक्तानले भने ।
वडाध्यक्ष लक्ष्मण अधिकारीले पनि जोड दिँदै भने, “हिउँसँग हाम्रो आर्थिक जीवन जोडिएको छ । ढुवानी, पर्यटन र जनजीवन सबै प्रभावित हुन्छ, त्यसैले राज्यले हिमाली क्षेत्रमा विशेष जलवायु अनुकूलन कार्यक्रम ल्याउनुपर्छ ।”
मेरापिक आरोहणमा कोरियाली आरोहीको मृत्यु
यसैबीच, महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा कोरियाली नागरिक टेजुुन पार्क को मृत्यु भएको छ । डिएसपी कुँवरका अनुसार, पार्क असोज १८ गते आरोहणमा निस्किएका थिए र ६,४६० मिटर उचाइमा पुग्दा मौसम प्रतिकूल भएपछि बेपत्ता भएका थिए । खोजतलासमा उनका नेपाली गाइड तेम्बा शेर्पा ६,१०० मिटरमा जीवित फेला परे भने पार्कको शव सोही क्षेत्रमा भेटिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण मृत्यु भएको अनुमान गरिएको छ ।