पाँचथर । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा घरमा पहिरो पुरिँदा मृत्यु भएकी हुन्। सोही समयमा फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सो स्थानका थलीबहादुर नेम्बाङका १७ वर्षीय छोरा मिसेक नेम्बाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की, फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे, र फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परेर घाइते भएका छन्। घाइतेहरुको उपचार स्थानीय स्तरमै भइरहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण सडक तथा यातायात अवरुद्ध भएका छन्। मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायतका सडकमा यातायात अवरुद्ध भएपछि सरकारी निकायले मर्मत तथा सफाइ कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।