सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च हुँदै गएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
आईतबार बिहानदेखि बढ्दै गएको पानीको सतह दिउँसो साढे १० बजे ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० वटा खोलिएको थियो।
शुक्रवार र शनिवार लगातार परेको वर्षाका कारण आइतबार बिहानदेखि सप्तकोशीको पानी खतराको तह पार गरेको हो। ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ।
विभागका अनुसार आइतबारदेखि कोशी प्रदेशमा मनसुन अझ सक्रिय भएको छ। बिहानैदेखि अविरल वर्षा भइरहेको र बेलुकासम्म पनि पानीको बहाव खतराको तह पार गर्ने अनुमान गरिएको छ।
यस्तै, सुनकोशी, अरुण र तमोर नदीहरूमा पनि पानीको सतह खतराको स्तरभन्दा माथि पुगेको विभागले जनाएको छ। यस कारण तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ सर्ने आग्रह गरिएको छ।