बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दसैंको तेस्रो दिन आज पनि टीका ग्रहण हुँदै

शनिबार, असोज १८ २०८२

काठमाडौं । ‘आश्विन शुक्ल द्वादशी’का दिन अर्थात् दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

विजयादशमीका दिन विशेष कारणले टिका ग्रहण गर्न नसक्नेहरूले आज आफन्तको हातबाट टीका लगाइरहेका छन्।

नवरात्रि भरि देवीपूजा गरी विजयादशमीमा देवी विसर्जनपछि सुरु भएको टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा विजयादशमी, एकादशी हुँदै कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। तर, पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन रहेको छ।

दसैं असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइए पनि यसबारे विभिन्न किम्वदन्तीहरू प्रचलित छन्। साथै, यो पर्व लामो समयसम्म भेटघाट नभएका आफन्तलाई भेट्ने, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने अवसरका रूपमा पनि लिइन्छ।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट ६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए। उनीहरू फर्कन थालेपछि केही दिनदेखि सुनसान देखिएको काठमाडौंमा पुनः भीडभाड बढ्न थालेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सकिने मान्यता छ।