शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको सचिवालयको आग्रह

शनिबार, असोज १८ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले आजदेखि असोज २० गतेसम्म तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने र कतिपय स्थानमा भारी वर्षा तथा कतिपय स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्दै खतरा तहसम्म पुग्ने जोखिम छ। साथै, मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रमा बग्ने साना नदी–नालामा आकस्मिक खहरे, भेल र बाढी आउन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा बग्ने साना नदीमा पनि आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।

प्रधानमन्त्रीको सचिवालयले डुबानको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सर्न पूर्वतयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति र गम्भीर बिरामीलाई विशेष प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। साथै, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिहरूलाई पूर्वतयारी, प्रतिकार्य र उद्धारमा उच्च सक्रिय रहन निर्देशन दिइएको छ।

सचिवालयले आधिकारिक निकायले जारी गर्ने सूचना र निर्देशनअनुसार मात्र यात्रा गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।