काठमाडौँ । यस वर्ष नेपालमा मनसुन सामान्य भन्दा केही ढिला मात्रै बाहिरिने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने औसत मिति अक्टोबर २ (बिहीबार) भए पनि हाल उत्तरार्धमा पुगेको मनसुन फेरि सक्रिय भएकाले केही समय ढिला बाहिरिने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ भए पनि यो वर्ष असामान्यरूपमा १५ दिन अगावै, अर्थात् जेठ १५ गते नेपाल प्रवेश गरेको थियो। असार ६ गतेसम्म पुग्दा देशभर फैलिएको मनसुन बाहिरिन भने ढिला हुनेछ।
अर्यालका अनुसार हाल मनसुनी वायु, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशभर वर्षा भइरहेको छ। आज अपराह्नदेखि केही दिनसम्म धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।
विशेषगरी शनिबार र आइतबार वर्षा तीव्र हुने अनुमान गरिएको छ भने सोमबारदेखि क्रमशः सुधार हुने विभागले जनाएको छ। त्यसपछि पश्चिमी वायुको प्रभाव कस्तो रहनेछ भन्ने आधारमा मनसुन बाहिरिने मिति तय हुने बताइएको छ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भूभाग हुँदै प्रवेश गरी जेठ २९ गते मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागसम्म फैलिएको थियो। असार ६ गते भित्र देशभर मनसुन पुगिसकेको थियो।