मकवानपुर । जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको चेतावनी जारी गरेपछि मकवानपुर जिल्लाका दुई प्रमुख सडक खण्डमा असोज २० गतेसम्म रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार हेटौंडाबाट ललितपुरतर्फ कान्तिलोकपथ हुँदै जाने सवारीसाधनलाई बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइनेछ।
त्यस्तै, हेटौंडाबाट भैसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनमा रोक लगाइनेछ।
प्रशासनले सम्भावित पहिरो, बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका यात्रामा नजान सबै नागरिकलाई आग्रह गरेको छ। साथै, स्थानीय तहलाई पहिरो जोखिमयुक्त क्षेत्र र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन निर्देशनसमेत दिइएको छ।