शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

बुधबार, असोज १५ २०८२

पाटन (ललितपुर) । दण्डहीनतालाई प्रोत्साहन गर्ने कार्य नगर्न र प्रतिशोधको राजनीति बन्द गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी शासन र विधिको शासनप्रति प्रश्न उठाएको उल्लेख छ । विज्ञप्तिमा पीडितलाई झन् आतङ्कित गर्ने प्रयास भएको आरोप लगाइएको छ ।

सप्रमाण अपराधीलाई उन्मुक्ति दिने नीति नेपाली जनताले स्वीकार नगर्ने कांग्रेसको भनाइ छ । कांग्रेसले जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौँ घाइते भएको र राष्ट्रलाई ठूलो आर्थिक क्षति पुगेको तथ्य स्मरण गराएको छ ।

सरकारले घटनाबारे न्यायिक छानबिन आयोग गठन गरेको निर्णयलाई कांग्रेसले स्वागत गरेको छ । तर, आयोगले निष्पक्षरूपमा काम गर्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दल र नेतामाथि बदलापूर्ण आक्रमण गर्ने, कार्यालय तोडफोड, लुटपाट गर्ने, सुरक्षाकर्मीको पोसाक र हातहतियार दुरुपयोग गरेर आतङ्क फैलाउनेजस्ता घटनामा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयको विज्ञप्ति र त्यसका आधारमा गरिएको परिपत्र संविधानवाद र विधिको शासनमाथि प्रश्न उठाउने खालको छ ।”

कांग्रेसले घटनाको छानबिन सुरु हुनुअघि नै नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही व्यवहार हुन थालेको भन्दै आयोगलाई क्षेत्राधिकारविहीन काम गराउन नहुने चेतावनी दिएको छ ।