शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दसैँमा उपत्यका छाड्नेको संख्या पाँच लाख ५३ हजार नाघ्यो

बुधबार, असोज १५ २०८२

काठमाडौँ  । दसैँ मनाउन गाउँ फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै आठ दिनमा पाँच लाख ५३ हजार २६१ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापनादेखि आजसम्म विभिन्न नाकाबाट यात्रु बाहिरिएका हुन् । पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जना उपत्यका छाडेका छन् ।

ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यात्रुको सहजता र सुरक्षाका लागि प्रमुख नाका र पार्किङस्थलहरूमा थप प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् भने घटस्थापनादेखि हालसम्म एक लाख ८९ हजार सवारीसाधन उपत्यका बाहिरिएका छन् । यात्रुको मुख्य गन्तव्य पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

त्यसैगरी, आजसम्म ७२ हजार ४१ सवारीसाधनमार्फत दुई लाख ८५ हजार ३०८ जना उपत्यकामा प्रवेश गरेका छन् । कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगतीलगायतका नाकामा यात्रुको चाप बढी देखिएको छ ।

सार्वजनिक सवारीसाधन नै यात्रुको प्रमुख विकल्प भए पनि निजी सवारी र पर्यटक बस प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । राजधानीमा भने यात्रु बाहिरिएसँगै सवारी चाप घटेको कारण सडकहरू तुलनात्मक रूपमा फुर्सदिला देखिएका छन् ।