काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान जेन–जी सरकारले आफूलाई गिरफ्तार गर्ने तयारी गर्दै मिडिया ट्रायल सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै बस्नेतले यस्तो कदम राष्ट्रहितविपरीत हुने चेतावनी दिएका हुन् । उनले राष्ट्र, लोकतन्त्र र समृद्धिको पक्षमा सत्य बोलेको कारण सत्तापक्ष त्रसित बनेको दाबी गरेका छन् ।
“वर्तमान जेन–जी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ । तर मैले देश र राष्ट्रियताको पक्षमा बोलेको हुँ, र अन्तिम साससम्म पनि त्यसै पक्षमा बोलिरहनेछु,” नेता बस्नेतले लेखेका छन् ।
उनले सरकारलाई अमानवीय र अलोकतान्त्रिक गतिविधि नगर्न आग्रह गर्दै नेपाली युवाले त्यस्ता कदमको सामना गर्न सधैं तयार रहेको चेतावनी दिएका छन् ।
बस्नेतका अनुसार एमाले अध्यक्षको बासस्थान व्यवस्थापन, भेटघाट कार्यक्रम र सचिवालय बैठकको आयोजना गर्ने आफ्नो भूमिकाप्रति सरकारले त्रास लिएको हो । दायित्व निर्वाह गर्ने आफ्नो अठोट स्पष्ट पार्दै उनले भनेका छन्, “कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन ।”