काठमाडौँ । काठमाडौं महानगरपालिका–२२ भीमसेनस्थानमा सोमबार बिहान साढे ४ बजे लागेको आगो करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ ।
आगलागीमा चार वटा घर र एउटा मन्दिरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । तीमध्ये मोहन शाहको घरस्थित कपडाको गोदामबाट आगो सुरु भएको र सो घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घरमा मानिसहरू फसेको हुनसक्ने आशंकामा खोजतलासी जारी छ ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाका चार, ललितपुर महानगरपालिकाको एक, बूढानीलकण्ठ नगरपालिकाको एकसहित नेपाली सेनाका दमकल गरी आठ वटा दमकल परिचालन गरिएको थियो ।
आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।