काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिको समाधान संविधानभित्रै खोज्नुपर्ने धारणा व्यक्त गरेका छन्
वडादशैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानलाई मुलुकको सर्वोच्च कानुनका रूपमा स्मरण गर्दै राजनीतिक जटिलताको निकास पनि त्यसमार्फत नै सम्भव हुनेमा जोड दिए।
सन्देशमा भनिएको छ, “संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ । सात दशकभन्दा लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र इच्छा–आकांक्षाबमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, स्थिरता र प्रगति सुनिश्चित हुन्छ ।”
सभापति देउवाले समृद्धिसँगै राष्ट्रिय एकता र शान्तिको मार्गमा सबैको साझा योगदान अपरिहार्य रहेको पनि उल्लेख गरेका छन्।
