काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
विजया दशमी–२०७९ का लागि जारी सन्देशमा उनले विगतझैं यसपालि पनि आफूबाट बृहत् रूपमा टीका–जमरा प्रदान नगर्ने जानकारी गराएका छन्।
उनले पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदानलाई हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्डका रूपमा स्मरण गर्नुपर्नेमा जोड दिएका छन् ।
युवा पुस्ता राष्ट्रको भविष्यका आधारस्तम्भ भएको उल्लेख गर्दै उनले उनीहरूको देशभक्तिपूर्ण भावना, उर्जा र नवीन सोचमार्फत मात्र नेपाललाई बलियो, समृद्ध र आत्मनिर्भर बन्ने बाटोतर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।